१० पुस २०८१, बुधबार

राजीनामा दिनुको साटो ओली षड्यन्त्रमा लागेको दाहालको आरोप


prachanda

असार ३१, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले भद्र सहमति भएकै छैन भनेर दाबी गरेपछि बाध्य भएर सरकारबाट बाहिरिएको बताएका छन् । वैशाख २३ गते बालुवाटारमा भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन हुनुपर्ने भनी एमालेकै वरिष्ठ नेताहरूबाट जोड भइरहे पनि ओलीले अस्वीकार गरेकाले सरकारमा बसिराख्न नैतिक हिसाबले ठीक नभएको उनको दाबी थियो ।

‘सरकार परिवर्तन किन भन्नेबारे बजारमा अनेकथरी हल्ला चलाउने कोसिस भयो, बजेटलगत्तै उहाँले पूर्वसहमतिबमोजित राजीनामा दिने सहमति भएको थियो, तर ओलीजीले अहिले आएर होइन भनेपछि हामी निरीह भएर बसिराख्नु उचित भएन,’ दाहालले शुक्रबार लाजिम्पाट निवासमा सञ्चारकर्मीसँग भने । ‘गोरखा फुजेलको घटनामा सम्बन्ध नै नभएका ७६ वर्षीय वृद्धलाई पक्राउन ओलीजीकै नजिकका वकिल संलग्न भएको, ओखलढुंगामा पनि त्यस्तै भएको बुझेपछि हामीले ठान्यौं, अब स्थिति गम्भीर भयो,’ उनले भने ।

दाहालले ओलीको शैली असाध्यै आत्मकेन्द्रित भएको आरोप लगाए । माओवादीको समर्थनबिना प्रधानमन्त्री बन्न सम्भव नै नहुने वास्तविकता बिर्सेर ओली सहकार्यको संस्कृति लत्याउँदै एक्लै अघि बढेको उनको भनाइ थियो । ‘दीपकुमार उपाध्यायलाई भारतको राजदूतबाट फिर्ता बोलाउने निर्णय महत्त्वपूर्ण हो, त्यसमा हामीसँग एक पटक सल्लाह गरिनुपथ्र्यो,’ उनले ओलीका पछिल्ला अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाउँदै भने, ‘अहिले सरकार टिकाउने डिजाइनबाट प्रेरित भएर भारत र चीनका कुरा जोड्न थालिएको छ । ब्याट्रीबाट चलाउने जस्ता कुरा गर्न थालिएको छ ।’ बहुदलीय संस्कृतिमा सत्तासाझेदार दलले समर्थन फिर्ता लिइसक्दा राजीनामा दिनुपर्नेमा ओली षड्यन्त्र गर्न थालेको आरोप दाहालले लगाए ।

३७ मिनेट लामो संवादको अधिकांश समय ओलीको आलोचनामा खर्चेका दाहालले ओलीको नाम नलिई संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता विरोधीहरू हावी हुँदै गएको पनि बताए । उसो भए आफ्नै समर्थनमा ओलीलाई किन प्रधानमन्त्री बनाएको त भन्ने प्रश्नको जवाफमा उनले भने, ‘सुशील कोइरालालाई राष्ट्रपति र ओलीजीलाई प्रधानमन्त्री बनाउँछु नभनेको भए संविधान नै बन्दैनथ्यो ।’ दाहालले एमालेसँग अहिले पनि दुश्मनी नचाहेको भन्दै वरिष्ठ नेताहरूसँग कुराकानी चलिरहेको बताए । एमाले–माओवादीबीच भद्र सहमति भएको बारे ओलीबाहेक सबै एमाले नेताहरूले भनिरहेको बताउँदै ओलीका कारण विश्वासमा संकट पैदा भएको दाबी गरे । अघिल्लो पटक ओलीलाई प्रधानमन्त्री बनाउँदा कांग्रेससहित सहमतिको सरकार बनाउने सहमति सोह्रबँुदे सहमतिताका गरिए पनि कोइराला चुनावमा उठेर धोका दिएको उनको भनाइ थियो । ‘ओलीजी सहकार्यको भावनाअनुसार चल्न चाहनुभएन, बरु सरकारमै बसेर माओवादीलाई कसरी कमजोर पार्न सकिन्छ भन्नेमा लागिरहनुभयो,’ उनले भने, ‘एमालेका एक वरिष्ठ नेताले मसँग कुराकानीमा ओली आफूलाई गठबन्धनले नभई भगवानले पृथ्वीमा राज गर्न पठाएको किसिमले व्यवहार गर्छन् भन्ने दुखेसो गर्नुभयो ।’

‘नक्कली राष्ट्रवादले क्षतविक्षत बनाउँछ’
दाहालले सामन्ती राष्ट्रवादीहरू अहिले नक्कली राष्ट्रवादी भएर चर्का कुरा गरिरहेको आरोपसमेत लगाए । देशलाई सबै वर्ग, समुदायको साझा फूलबारी बनाउँदै आन्तरिक एकता सुदृढ गर्नुको साटो पूर्वराजावादी र पुराना सत्तासीनलाई अगाडि सारेर उत्पीडित वर्गमाथि शोषण निरन्तर कायम राख्न खोज्ने प्रवृत्ति देखिएको उनको भनाइ थियो । ‘नक्कली राष्ट्रवादले देशलाई क्षतिविक्षत गराउँछ, आफूलाई गणतन्त्रको खुलेआम विरोधी, संघीयताको त खुलेरै विरोधी, धर्मनिरपेक्षतालगायत परिवर्तनका मुद्दाको विरोधीहरू अहिले राष्ट्रवादको चर्को कुरा गर्दैछन्,’ दाहालले थपे, ‘बाहिर राष्ट्रवादी वा वामपन्थी जसको कभर लिएर देखिए पनि उनीहरूको लगनगाँठो पूर्वराजावादीहरूसँग कसिएको छ । तपाईंहरूलाई थाहै छ, प्रेम भन्ने कुरा त आखिर भावना र विचार मिलेपछि न हुने हो ।’

दाहालले चीन आफ्नो पक्षमा रहेको खुलेरै बताए । चीन–भारतसँग सम्बन्ध बिगार्ने नेतृत्वको पक्षमा नरहेको भन्दै सम्बन्धमा सन्तुलन खोज्ने पक्षमै रहेको बताए । ‘ओली सरकारले चीनसँग सम्झौता गर्दा चीनका राष्ट्रपति सी जिनपिङले त्यहाँका राजदूतमार्फत मसँग संवादमै थिए, उनले मलाई पहलकदमीका लागि धन्यवाद दिए,’ उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री बन्ने कुराले चीन खुसी छ । अब भारतसँग सन्तुलन मिलाओस् भन्ने चीनको चाहना छ ।’ उनले सरकार परिवर्तनमा भारतीय सहभागिता छ भन्ने चर्चा भ्रामक प्रचारबाजी भएको भन्दै खण्डन गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !