३ फाल्गुन २०८२, आइतबार

जनताका सच्चा नेता भीमदत्त पन्त


Nepalpatra

१७ साउन, कञ्चनपुर । ‘कि त जोत हलो कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नारा दिएर किसानका पक्षमा सामन्तविरुद्ध सशस्त्र आन्दोलन गर्दै जीवनको आहुति दिएका क्रान्तिकारी नेता भीमदत्त पन्तलाई शब्दमा मात्रै चिन्ने गरिएको छ ।

पन्तका आदर्श र क्रान्तिमा उठाइएका मागलाई अगाडि नबढाइँदा किसान, सुकुम्बासी, विपन्न, दलितलगायत समुदायले न्याय पाउन सकेका छैनन् । नेता पन्तलाई आदर्श मान्दै आएका राजनीतिक पार्टीले सडकमा हँुदा उनलाई सम्झने र सत्तामा गएपछि बिर्सने परिपाटीले गर्दा भूमिहीनलगायत उपेक्षित समुदायले न्याय पाउन नसकेको भूमिअधिकारकर्मी रामबहादुर चुनाराले बताउनुभयो ।

दलहरुमा आदर्शभन्दा सत्ता साँठगाँठलाई महत्व दिने प्रवृत्ति बढेका कारण र किसानलाई उपेक्षा गर्दै आएकाले पनि पन्तका सपना पूरा हुने नसकेको बताउँदै उहाँले भन्नुभयो, “भीमदत्तलाई शहीद घोषणा गरेर मात्र सम्मान भएको मान्न सकिँदैन । सच्चा सम्मान गरेको तब मानिने छ, जब उनले उठाएको मुद्दा सम्बोधन हुनेछ ।”

भूमिहीन, सुकुम्बासी, बाढीपीडित, हलिया, मुक्तकमैया, आरक्षपीडित, ऐलानीबासी, र किसानले जग्गा र जग्गाको अधिकार पाए मात्रै पिछडिएका जाति र समुदायले न्याय पाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गरीबलाई खाना, बास, सुरक्षा, शिक्षा, उपचार र रोजगारीको ग्यारेण्टी गर्नु भीमदत्त पन्तलाई सम्मान गर्नु हो ।”

पन्तका स्वराज, स्वाभिमान, आत्मनिर्भर अर्थतन्त्र, कृषिमा आधुनिकीरणलगायत माग अहिले पनि आत्मसात् गर्न सकिने खालका रहेको प्रा लोकराज भट्टले बताउनुभयो । किसान नेता पन्तले गरेको आन्दोलन र उठाएका माग जनतादेखि नेताहरुका मानसपटलमा रहे पनि कार्यान्वयन गर्ने आँट अहिलेसम्म देखिएको छैन । उहाँले भन्नुभयो, “कृषिलाई निर्वाहमुखीभन्दा व्यवसायीमुखी बनाइए प्रदेशकै कायापलट हुनसक्छ तर विडम्बना अहिलेसम्म त्यस्ता नीति र कार्यक्रम कार्यान्वयन हुन सकेका छैनन् ।”

डडेल्धुराको कारीगाउँमा विसं १९८३ मंसिर १० गते उनी आमा सरस्वती र बुवा तारनाथका सुपुत्रका रुपमा जन्मिएका थिए । विसं २०१० साउन १७ गते बुडरको गइलेक भन्ने ठाउँमा मगरका घरमा खाना पकाउन लागेका बेला टाउको काटेर उनको हत्या गरिएको थियो । काटेको टाउको बाँसको टुप्पामा झुण्ड्याई राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो । पन्तले सामन्तीप्रथा उन्मूलन र छुवाछुतविरुद्धको आन्दोलन सशक्त रुपमा उठान गरी चेतना छर्ने कार्यका लागि सशस्त्र आन्दोलनको शुरुआत गरेका थिए । उनका सामन्तका घरबाट तमसुक फाड्ने तमसुक फट्टाकाण्ड, ब्रह्मदेव नुनकाण्ड चर्चित थिए । सामन्तलाई लक्ष्य गरी नेता पन्तले लगाउने गरेको कि त जोत हलो यदि हैन भने छाड थलो भन्ने नारा त्यस बेला जनजिब्रोमा झुण्डिएको थियो ।

उत्तरप्रदेश भारतको सिंहाईबाट संस्कृत विषयमिा हाइस्कूलसम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पन्त नै थिए । अन्याय र सामाजिक भेदभाव सहन नसक्ने पन्तले विसं २००७ देखि आन्दोलनको शुरुआत गरे । त्यस बेला उनलाई भीमदत्त काँग्रेस भन्ने गरिन्थ्यो । अन्याय गर्नेलाइ दण्डसजाय । गरीब, दलित, जनजाति र किसानलाई सङ्गठित गरी राणाविरोधी आन्दोलनमा समेत पन्तको ठूलो भूमिका रह्यो तर २००७ सालको राजनीतिक परिवर्तनपछि काँग्रेसले गरेको व्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन भनी राणासित मिलेर बनेको सरकारको विरोध गरे ।

परिवर्तनका पक्षमा स्पष्ट अडान भएका पन्तले दलित, मगर र थारुहरु सङ्गठित गरी मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपसिंह सेनाका कमाण्डर थिए । दक्षिण भारतका कृष्ण स्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए ।

किसानलाई बेदखल गर्ने, उनीहरुको नाममा जाली तमसुक बनाउने र श्रमशोषण गर्ने ठालुहरुलाई उनले कारवाही गर्न थाले । उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे । उनको क्रान्ति विरोध गर्ने र कारवाही गर्नेमा मात्र सीमित थिएन । गरीबहरु संगठित हुनुपर्छ, अन्न खेर फाल्नु हुँदैन, उत्पादन बढाउनुपर्छ, अनावश्यक खर्च घटाउनुपर्छ, प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि उनले सचेतना अभियान चलाएका थिए ।

सुदूरपश्चिम र मध्यपश्चिमका अधिकाँश जिल्लामा भ्रमण गर्दा गरीबले नूनसमेत खान नपाएको थाहा पाएर उनले नून आन्दोलनको घोषणा गरे । कञ्चनपुरको ब्रह्मदेवमा भएको गाोदामबाट गरीबलाई नुन र कपडा वितरण गरे । त्यति नै बेला गड्डाचौकी भन्सारमा उनलाई समातियो र हातखुट्टा बाँधेर नेपालगञ्ज पु¥याइयो । भागेर ज्यान बचाई कञ्चनपुर आए । उनले आफ्ना बुवालाई पनि सामन्त भएको बताई घरमा भएका तमसुक च्याते, जलाइदिए । मालअड्डामा भएका मूठहरु जलाइदिए । त्यसपछि बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम भई बसे । क्रान्तिमा सहयोग गर्नेहरुलाई कर्मचारी बनाए ।

चार महीनासम्म उनले शासन चलाए । उनले बेलौरीमा बंैक कब्जा गरी त्यहाँबाट लिइएको पैसा सैनिकलाई तलब दिएर बाँकी कमैया र हलियालाई सहयोग गरे । उठ जागरे, नेपाली नवजवान जागरे, नेपालमा तम म, नेपाल देशलाई स्वतन्त्र बनाऊँ रे भन्ने उहाँको देशभक्ति गीत थियो ।

सरकारले पन्तलाई पटक पटक काराबास हाल्यो । त्यसबाट पनि पन्त विचलित नभएपछि मार्ने षडयन्त्र गरी भारतीय सैनिकसमेत बोलाइयो । पन्त बेलौरी कब्जा गरी धनगढी कब्जा गर्ने तयारी साथ हिँडिरहेका बेला भारतीय सैनिकले घेरामा पारे । उनी त्यहाँबाट बच्न सफल भई केही सैनिकका साथ निंगाली, सहजपुर हुँदै डोटी बुडर पुगे । सबैलाई सुरक्षित बाहिर निकाल्न नसक्दा धेरै सैनिक मारिए । विसं २०१० साउन १७ गते बुडरको गइलेकमा मगरका घरमा खाना पकाउन लागेका बेला गोली हानियो र पछि टाउको काटी मारियो । टाउको लगेर बडाहाकिम सिंहलाई बुझाइयो । काटिको टाउको बाँसको टुप्पामा झुण्ड्याई राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो ।

किसान आन्दोलनको नेतृत्व गरी सबै दलका आदर्श बनेका पन्त लामो समयपछि शहीद घोषित हुनुभएको छ । विसं २०७२ फागुनमा सरकारले पन्तसहित किसान विद्रोहका २२ नेतालाई शहीद घोषणा गरेको छ ।
पूर्वउपसभामुख भोजराज जोशी पन्तका सपनालाई साकार बनाउनका लागि सरकारले जनमुखी योजना ल्याई देशलाई अग्रमगमनतर्फ डो¥याउनुपर्ने बताउनुहुन्छ । पन्तको शालिकमा फूलमाला चढाएर मात्रै उहाँले देखेका सपना पूरा नहुने भएकाले नीति, योजना बनाई कार्यान्वयन गर्ने दृढ निश्चयको खाँचो रहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !