काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज ‘डिस्चार्ज’ भएका छन् । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत रास्वपाका सभापति लामिछानेको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आज बिहीबार डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् । उनलाई नसामार्फत तीनवटा एन्टिबायोटिक औषधि दिइएको छ ।
रास्वपाका सभापति लामिछानेलाई देब्रे खुट्टामा चोट लागेपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । गत ५ माघमा जनकपुरमा आयोजित सभाका क्रममा लामिछानेको देब्रे खुट्टामा लागेको सामान्य चोट बढेर छालाको भित्री तहमा संक्रमण भएर ‘सेलुलाइटिस’ भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
एन्टिबायोटिक्स खाँदा पनि निको नभएपछि लामिछानेलाई अस्पतालको हाडजोर्नी विभागअन्तर्गत भर्ना गरिएको थियो । उनलाई नसाबाट औषधि चलाइएको थियो । चोट आफैँमा गम्भीर नभएपनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधार भएसंगै उनी पुनः नियमित राजनीतिक तथा साङ्गठनिक अभियानमा फर्किने बताइएको छ ।












