काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको थप गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको हो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद २० दिन थप्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । आयोगको म्याद दोस्रोपटक थपिएको हो । यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिना थपिएको थियो ।
आयोगले जेनजी आन्दोलनमा भएको हत्या, तोडफोड, आगजनीलगायत विषयमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा प्रमुखहरू, मुख्यसचिव, सचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख, सुरक्षामा खटिएका कमान्डर र अभियन्तासँग समेत बयान लिएको थियो । उक्त आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । दुई हजार ४२९ जना घाइते भएका थिए ।












