जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजबाट चुनावीसभा सुरु गर्दै छ । जनकपुरबाट रास्वपाले चुनावीसभा सुरु गर्न लागेको हो । रास्वपाका नेताहरू आइतबार नै जनकपुरधाम पुगिसकेका छन् ।
हिजो आइतबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लगायत नेताहरू जनकपुर पुगेका हुन् । तिरहुतिया गाछीमा हुने चुनावीसभालाई सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनलगायतले सम्बोधन गर्नेछन् ।
सभालाई सम्बोधन गर्न मधेशको राजधानी जनकपुरधाम आएका रास्वपा नेता बालेन साहले जानकी मन्दिरमा पूजा गरी आजको दिन सुरुवात गरेका छन् । उनी आज एकाबिहानै पूजाआजाका लागि जानकी मन्दिर पुगेका थिए । पूजाआजापछि उनले मन्दिरका पूजारी तथा सहमहन्थ रामरोशन दाससँग भेटघाट पनि गरेका थिए ।
जनकपुरधामबाट उनी मधेश आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्न लहान पुगेका छन् ।बालेनसँगै पूर्वसांसद अमरेश कुमार सिंह पनि भेटमा सहभागी थिए । जनकपुरधाममा आज आयोजना हुने सभाबाट अमरेश कुमार सिंह पनि रास्वपा प्रवेश गर्दैछन् ।












