२ फाल्गुन २०८२, शनिबार

ऊर्जामन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गर्न जेनजी मुभमेन्टको माग


ऊर्जामन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

कठमाडौं । जेनजी मुभमेन्ट, नेपालले सुशीला कार्कीको नेतृत्वमा रहेका ऊर्जामन्त्री कुलमान घिसिङ र प्रधानमन्त्रीका सल्लाहकार गोविन्द नारायणलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । खुलेआम राजनीतिक दलका गतिविधिमा संलग्न भएको भन्दै सरकारको दल निरपेक्ष चरित्रमाथि मुभमेन्टले प्रश्न उठाएको हो ।

जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले आज एक विज्ञप्ति जारी गर्दै आफूलाई नागरिक र दलनिरपेक्ष सरकारका रूपमा प्रस्तुत गर्ने सरकारले आफ्नै पदाधिकारीलाई खुला रूपमा पार्टी गतिविधिमा संलग्न हुन दिएको तथ्यले यो सरकार वास्तवमा कसको हो भन्ने प्रश्न नेपाली जनतामाझ गहिरिँदै गएको आशंका व्यक्त गरेका छन् ।

वक्तव्यमा भाद्र २३ गते नवोदित पुस्ताले पवित्र उद्देश्यका साथ सुरु गरेको विद्रोहलाई भाद्र २४ गते कार्कीको समूहले अपहरण गरी देशलाई अराजकतातर्फ धकेलेको आरोप लगाइएको छ । शीतल निवास, सर्वोच्च अदालत, सिंहदरबारलगायत स्थानमा आगजनी, तोडफोड र हिंसा भएको उल्लेख गर्दै त्यसबाट मुलुक राज्यविहीनताको खतरनाक अवस्थामा पुगेको दाबी गरिएको छ ।

जेनजी मुभमेन्टले घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भइसकेको उल्लेख गर्दै कुनै पनि राजनीतिक संरक्षण नदिई कडा कानुनी कारबाही गर्न र दोषी ठहर भए कालकोठरीमा राख्न माग गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु