काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज एकीकरण भएको छ ।
कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू लिङ्देन र थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे । यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकताको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले २०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । २०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए । थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।












