काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखक जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन गएका छन् । आज सोमबार लेखकले बयानमा दिन आयोगमा गएका हुन् ।
तत्कालीन गृहमन्त्री लेखक भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष बयान दिन आज सिंहदरबार पुगेका हुन् । उक्त दुई दिनका घटनाबारे उनले आयोग पदाधिकारीलाई बताउनेछन् ।
लेखकले आजै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत आफ्नो धारणा सार्वजनिक पनि गर्ने उनको सचिवालयले जनाएको छ । लेखकलाई यही पुस ८ गते बयानका निम्ति आयोगले पत्राचार गरेको थियो ।
भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताले गरेको प्रदर्शनको क्रममा सरकारबाट निर्मम दमन भएको थियो । आन्दोलनका क्रममा प्रहरीको गोली र आगजनीमा समेत परी ७६ जनाको ज्यान गएको थियो ।
सो घटनापछि तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढलेको थियो । सो सरकारमा रमेश लेखक गृहमन्त्री थिए । त्यसैले उनलाई पनि आयोगले अनुसन्धानको दायरामा ल्याएको हो ।












