८ फाल्गुन २०८२, शुक्रबार

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन


बद्रीप्रसाद मण्डल

विराटनगर । पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको निधन भएको छ । विराटनगर–९ स्थित आफ्नै निवासीमा मण्डलको ८७ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

परिवारिक स्रोतका अनुसार, मण्डल मुटुसम्बन्धी रोगबाट ग्रस्त थिए । बिहान शौचालय गएर आई सुतेका उनी ओछ्यानमै मृत फेला परेका थिए । भतिजी जस्मिन मण्डलले बताएअनुसार परिवारले थाहाँ पाउँदा मण्डलको निधन भइसकेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा मण्डल मन्त्री थिए । उनी सद्भावना पार्टीको अध्यक्षसमेत बनेका थिए । मण्डल राजतन्त्र र हिन्दुत्व पक्षमा रहेका थिए। २०४६ सालअघि राजतन्त्रवादी उनी बहुदल आएपछि सद्भावना पार्टीसँग जोडिएका थिए ।

ज्ञानेन्द्र शाहको शासनकालमा उनी उपप्रधानमन्त्री थिए । नेपाली कांग्रेसमा केही समय आबद्ध भएका थिए । गजेन्द्र नारायणसिंहको निधनपछि सद्भावनाको नेतृत्व मण्डलले लिएका थिए । उनलाई राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले समेत वरिष्ठ नेता बनाएको थियो।

मण्डलका दुई श्रीमती, ४ छोरा र ३ छोरी छन्। चारमध्ये एक छोराको यसअघि नै निधन भइसकेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !