काठमाडौँ । मधेस प्रदेशसभाको सभामुखमा रामआशिष यादव निर्वाचित भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन भएको थियो ।
सभामुखको आशनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी छिन् । रामअशिष यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए ।
सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादको सभामुखका लागि उम्मेदवारी परेको थियो ।
जम्मा खसेको ९६ मतमध्ये यादवले ७२ मत प्राप्त गर्दै विजयी हुँदा त्रिलोकी प्रसादले २४ मत प्राप्त गरे । निवर्तमान सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते पदमुक्त भएका थिए।












