काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भैरहवा जान काठमाडौँबाट भरतपुर उडेका छन् । काठमाडौँबाट भैरहवाको जहाज नउडेपछि भरतपुर हुँदै त्यसतर्फ जाने भएका छन् ।
भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुलेपछि रास्वपाका सभापति लामिछाने चितवनको भरतपुरसम्म जहाजमा गएर रुपन्देहीसम्म भने गाडीमार्फत जाने भएका हुन् । लामिछाने सवार बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर उडेको छ ।
आज बिहान ७:५५ बजेदेखि भैरहवाको लागि उडान पर्खिएका उनी मौसम नखुलेपछि भरतपुरसम्म जहाजमा गएर त्यहाँबाट गाडीमा जाने भएका हुन् । लामिछाने भैरहवा जान शुक्रबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर दिउँसो १ बजेसम्म पनि भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौँमै रोकिएका थिए ।
हिजो बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने अदालत उपस्थित हुन भैरहवा जान लागेका हुन् । बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्ववय वासुदेव आचार्य र तेजनारायण पौडेलले उनलाई ३ वटा सर्त पुरा गरेर छाड्न आदेश गरेका थिए । आदेशको अन्तिम बुँदामा रविलाई कागज गराउने विषय उल्लेख छ ।












