१ फाल्गुन २०८२, शुक्रबार

नेकपा एमालेमा ओली बने महाशक्तिशाली, अध्यक्षमा ह्याट्रिक


केपी शर्मा ओली

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक विजयी भएका छन् । ईश्वर पोखरेललाई पराजित गर्दै ओली लगातार तेस्रोपटक एमालेको अध्यक्षमा विजयी भएर ह्याट्रिक गरेका हुन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।

एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको पदाधिकारी निर्वाचनमा अध्यक्ष ओली नेतृत्वको संस्थापन पक्षको स्पष्ट बहुमत देखिएको छ । अध्यक्षमा ओली भारी मतान्तरसहित पुनः निर्वाचित हुँदा महासचिवमा शंकर पोखरेल पनि संस्थापन पक्षबाट विजयी भएका छन् ।

१९ सदस्यीय पदाधिकारी टिममध्ये १७ जना ओली पक्षका रहेका छन् भने ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र निर्वाचित भएका छन् । चुनावी परिणामले एमालेको आगामी नेतृत्व संरचना र आन्तरिक शक्ति सन्तुलनमा संस्थापन पक्षको पकड अझ बलियो बनेको संकेत गरेको छ ।

समग्र एमालेको ११औँ महाधिवेशनमा भएको निर्वाचन परिणामलाई विश्लेषण गर्दा अध्यक्ष ओली एमालेमा महाशक्तिशाली बनेका छन् । जेनजी आन्दोलन भएको बेला प्रधानमन्त्री समेत रहेका ओलीलाई धेरै यूवाको ज्यान गएको भनेर आरोप र चर्को आलोचना खेप्नुपरेको थियो भने यस मतपरिणामले ओलीलाई दुखेको घाउमा मलमपट्टि भएको छ ।

जेनजी आन्दोलनमा सत्ताबाट हटेका ओली ११ औं महाधिवेशनबाट अध्यक्षमा पुन: अनुमोदन भएर फर्केका छन् । पार्टीभित्र आन्तरिक शक्तिसंघर्ष, देशी र विदेशी शक्तिकासामू पनि अध्यक्ष हुनैपर्ने परीक्षा दिएका ओली सफल भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !