काठमाडौँ । नेकपा (एमाले) को ईश्वर पोखरेल समूहले तत्काल मतदान सुरु गर्न माग गरेको छ । मतदानमा ढिलाइ भइरहेकाले तत्काल सुरु गर्न आफूहरूले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका नेत्री अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
मतदान ढिलाइको नाममा ओली पक्षबाट चलखेल भइरहेको ईश्वर पोखरेलको आरोप छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकेको थियो ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा छन् । पोखरेल मतदानस्थल पुग्दा नेतारकार्यकर्ताले उनको पक्षमा नारावाजी समेत गरेका छन् ।
प्रावधिक कारणले समयमै मतदान सुरु हुने सम्भावना कम रहेको एमालेका प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् । गौतमका अनुसार मतदान सुरु हुँदा चार बज्न सक्नेछ । दिउँसो १२ बजेदेखि नै मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म सुरु हुन नसकिरहेका बेला ईश्वर पोखरेलले तत्काल मतदान सुरु गर्न दबाब बढाएको हो ।












