काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको आज बिहीबार बसेको बैठकले सभापति देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय गरेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि डडेल्धुराबाट कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवा उम्मेदवार बन्ने भएका हुन् । जिल्ला सभापति भीमबहादुर साउँदले प्रदेश समितिलाई देउवाको नाम सिफारिस गरिएको जानकारी दिए ।
डडेल्धुरा कांग्रेसका नेताहरूसँग यसअघि नै देउवाले अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसकेका थिए । सभापति देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन्।
यसअघि देउवा २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा भएको निर्वाचनमा डडेल्धुराबाटै विजयी भएका थिए । २०४८ सालदेखि हालसम्म अपराजित रहेको देउवा मात्रै एक नेता हुन् ।












