काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । आज मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन् ।
पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरका नेता कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् । उनले पार्टीको रक्षा मार्फत नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको हित रक्षालाई सर्वोपरि मानेर अघि बढ्नु आजको आवश्यकता भएको समेत बताएका छन् ।
यसअघि बसेको पार्टीको सचिवालय बैठकमा पनि उनले आफू अध्यक्ष बन्ने जानकारी गराएका थिए । उनले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको पनि बताएका छन् ।
मंसिर अन्तिम साता तय भएको एघारौं महाधिवेशनबाट पनि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने तयारी गरिरहेका छन् । तेस्रोपटक अध्यक्ष हुनलाई ओलीले पार्टीको विधान नै संशोधन गरेका थिए । तर जेनजी आन्दोलनपछि राजनीतिक कोर्स फेरिएकाले ओलीले नेतृत्व छोड्नुपर्ने तर्क पोखरेलले गर्दै आएका छन् ।












