काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी रहेको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक जारी रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।
बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न पनि सुरक्षा परिषद्को बैठक बोलाएको बताइएको छ ।
प्रधानमन्त्री कार्कीले रक्षा, परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि आफैँ सम्हालेका कारण बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल सहभागी भएका छन्।
सिमरामा बुधबार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।












