काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ हुन लागेको हो ।
आफूलाई थुनामुक्त गर्न गरी साधारण तारेख माग गर्दै छुट्टाछुट्टै दायर निवेदन यसअघि उच्च र सर्वोच्च अदालतले समेत खारेज गर्दै उनीहरूलाई थुनामा पठाइएको थियो । त्यसपछि उनीहरूले बिगो बुझाएर साधारण तारेख माग गर्दै अर्को निवेदन दिएका हुन् ।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो । जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
यसअघि सहकारी ठगीको बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भनी दिएको निवेदनमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले दुवै मुद्दासाथै राख्ने आदेश भएको थियो ।












