काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आज शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
बैठकपछि पत्रकार सम्मेलनमा पत्रकारहरूले सभापति देउवाको स्वास्थ्य अवस्थाबारे सोधेको प्रश्नमा प्रचार विभाग प्रमुख विश्वकर्माले देउवा अझै सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहेको जानकारी उपसभापति खड्काले बैठकमा ब्रिफिङ गरेको जानकारी दिए ।
देउवा अहिले सामान्य बोलचाल र हिँडडुल गर्नसक्ने अवस्थामा छन् । चिकित्सकले केही दिन अmभै अस्पतालमा राख्नुपर्ने बताएको पनि उनले जानकारी गराए । चिकित्सकले धारिलो हतियारबाट घाउ लागेको बताए पनि के हतियार भन्ने चाहिँ नखुलेको उनले बताए ।












