काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले बताए ।
गृहमन्त्री लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका थिए । आज सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका थिए ।
जेनजीको प्रदर्शनमा अत्यधिक दमन भएपछि आलोचना खेपिरहेका गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् । कांग्रेसको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो । ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए ।
उनले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका थिए । घटनाको जिम्मेवारी लिँदै गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको हो ।












