४ फाल्गुन २०८२, सोमबार

सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो, पुनर्विचार गरिनुपर्छ : गगन थापा


गगनकुमार थापा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै कांग्रेसका महामन्त्री थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई उल्टो बाटोको संज्ञा दिएका हुन् ।

उनले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेकोले उक्त निर्णय गलत भएको उल्लेख गर्दै महामन्त्री थापाले सरकारलाई पुनर्विचार गर्न आग्रह गरेका छन् ।

“सामाजिक सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ,” थापाले भनेका छन्, “सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ ।”

उनले सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्यांकन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्– ”सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्यांकन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ । यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो । सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रियसभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ । आजको दिनमा सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जवाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको छ । सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकीसँग जोडिएको छ । सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ । सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिमसँग समेत जोडिएको छ । हामीले यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ । त्यसैले सरकार सँग पुनः आग्रह छ– यो निर्णय पुनर्विचार गरियोस् । सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाओस् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !