२ फाल्गुन २०८२, शनिबार

अहिलेको सरकार कांग्रेस र एमालेले होइन, बिचौलियाले चलाएको हो : प्रचण्ड


अध्यक्ष प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार कांग्रेस र एमालेले नभई बिचौलियाले चलाएको आरोप लगाएका छन् ।

आज बुधाबार पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी) को सातौँ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले रुपमा कांग्रेस र एमालेले चलाए पनि सारमा बिचौलिया र दललाले चलाएको आरोप लगाएका हुन् ।

आफूले यही स्थितिको विरोध, अन्त्यका लागि सुशासन र भ्रष्टाचारविरुद्ध अभियान छेडेको उनले दाबी गरे । दलाल बिचाैलियाहरुले पैसाको बलमा सेटिङ गरेर राज्य सञ्चालन खोज्ने विरुद्ध सबै पार्टीका महिलाहरूले सडक सङ्घर्षमा उत्रिन उनले आह्वान गरे ।

‘प्रचण्ड’ले वैज्ञानिक समाजवाद स्थापनाका लागि विचार मिल्ने इमान्दार शक्तिबीच एकता आवश्यक भएको बताए । उनले समाजवादी आन्दोलनलाई अगाडि बढाउने अबको सङ्कल्प हुनुपर्ने बताए ।

अध्यक्ष दाहालले जनयुद्धमा महिलाको उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै भने, “जनयुद्धमा हजारौँ महिलाको सहभागिता नभएको भए सङ्घीय लोकतान्त्रिक संविधान, गणतन्त्र र राज्यका निकायमा महिलाको ३३ प्रतिशत उपस्थिति सम्भव थिएन ।”

अध्यक्ष दाहालले जनताको सङ्घर्षको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका षडयन्त्र परास्त गर्न परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए । “सम्मेलनबाट समाजवादी यात्राका लागि पार्टी र संविधानविरूद्ध भइरहेको षड्यन्त्रविरुद्धको सङ्कल्प लिनुहुनेछ”, उनले भने ।

उहाँले संविधानले चाहेअनुसार निर्माण गर्न नसकिए पनि सम्झौताको दस्तावेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताए । तर जुन उदेश्यले संविधान निर्माण गरिएको थियो त्यसको कार्यान्वयनभन्दा संविधानविरूद्ध गतिविधिप्रति चिन्ता व्यक्त गर्दै भने, “हामीले बनाएको संविधान कार्यान्वयनतर्फ होइन, उपलब्धि उल्टिने खतरा देखिएको छ ।”

अध्यक्ष दाहालले देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता दोहोर्याए । उनले भने, “१० वर्षअघि संविधान निर्माण गर्दा हामीले भनेका थियौँ–जननिर्वाचित कार्यकारी प्रमुख र निर्वाचन पूर्ण समानुपातिक हुनुपर्छ । अहिले त्यसको आवश्यकता झन् बढी महसुस भइरहेको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु