मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले जनार्दनले नपत्याउँदैमा माओवादी इतिहास र आन्दोलन नरोकिने बताएका स्पष्ट पारेका हुन् ।
प्रचण्डले शेष नागले पृथ्वी थामेको छ भन्ने कुरा पुरानो भएको सन्दर्भमा पाटीको आगामी बैठकमा कुरा हुने बताए । अध्यक्ष प्रचण्डले पाटी भित्र स्वार्थ समूह रहेको भन्दै स्वार्थ समूहको बारेमा पहिचान समेत भइसकेको बताए ।
उनले पाटीको विधि र पद्धति र लिडरसिप भन्दा स्वार्थमा केन्द्रित भएर मिटिङ बैठक गर्ने नै स्वार्थ समूह भएको आरोप लगाए । उनले जनार्दनको अभिव्यक्तिका विषयमा पार्टीमा समीक्षा गर्ने पनि बताए ।
उनले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने बताए । विगतमा कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रतिबद्धता व्यक्त भएको स्मरण गरे ।
अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणको क्रममा सीमा समस्या समाधान नगरिकन छिमेकीसँगको सम्बन्ध सुमधुर हुन नसक्ने कुरा प्रष्टरूपमा राखेको उल्लेख गरे ।
उनले भने, “पछिल्लो पटक प्रधानमन्त्रीका रूपमा भारत भ्रमणका अवसरमा आयोजित ‘प्रेस ब्रिफिङ’मा सीमा विवादका विषयमा चर्चा भएको र भारतीय प्रधानमन्त्री मोदीले सिमानाको समस्या जो बाँकी छ, त्यसलाई संवादद्वारा हल गरिन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।”
अध्यक्ष दाहालले छिमेकी मित्रराष्ट्र भारतसँग संवादको प्रक्रिया थालेर दुई देशबीचको सीमा समस्या हल गर्न सरकारलाई सुझाव दिए ।












