फाइल फोटो
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने अदालतले आदेश दिएको छ । रास्वपाका सभापति लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको हो ।
आज बुधबार न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
लामिछानेले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा निवेदन दायर गरेका थिए । यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएपछि रवि उच्च अदालत पुगेका थिए ।
अब कैफियत प्रतिवेदन आएपछि मुद्दाको अर्को सुनुवाइ हुने भएको छ । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा लामिछाने चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।












