१ फाल्गुन २०८२, शुक्रबार

ईश्वरीदेवी न्यौपानेले दिइन् सुनुवाइ समिति सभापतिबाट राजीनामा


ईश्वरीदेवी न्यौपाने

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापति पदबाट राजीनामा दिएकी छन् ।

कांग्रेसले आज न्यौपानेलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति बनाउने निर्णय गरेपछि उनले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा बुझाएकी हुन् ।

कांग्रेसको आज बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले न्यौपानेलाई राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो ।

सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त उक्त पदमा न्यौपानेलाई जिम्मेवारी लिन लागिएको हो । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि सभापति पदबाट खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए ।

राज्यव्यवस्था समिति सभापति पदका लागि आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । कांग्रेस सांसद रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त भएको उक्त पदका लागि भोलि बुधबार निर्वाचन हुँदै छ ।

न्यौपाने समानुपातिक तर्फकी सांसद हुन् । न्यौपानेलाई कांग्रेसले प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार पनि बनाएको थियो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरसँग पराजित भएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !