काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को पार्टी केन्द्रीय कार्यालय च्यासलको नाम लिंदै आफ्नो सदस्यतामाथि नै प्रश्न उठेको बताइन् ।आज बिहीबार काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन्।
उनले आफूले राष्ट्रपति भएर नेपालको गौरव बढ्ने गरी काम गरेको बताएकी छन् । उनले देशको राष्ट्रपतिले गर्नुपर्ने भूमिका मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्नेगरी काम गरेको दावी गरिन् ।
उनले आफू माले हुँदादेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको, एमालेकै कार्यकर्ताको रूपमा निरन्तर काम गर्ने र आलोचनाभन्दा बाहिर रहन नसक्ने बताइन् ।
राष्ट्रपति हुँदा आफूले गरेको कामहरू इतिहासको पानामा खुला रहेको भन्दै आफू पनि आलोचना भन्दा बाहिर नरहेको बताइन्। तर तथ्यका आधारमा आलोचना हुनुपर्ने उनको भनाइ छ।
आफू नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्ने पनि उनले स्पष्ट पारिन्। आफूलाई केहीले नेता मान्ने गरेको तर च्यासलले संगठित सदस्यमै प्रश्न उठाएको उनले टिप्पणी गरिन्। पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादको मर्मअनुसार काम भयो कि भएन भनेर समीक्षा गर्ने बेला भएको बताइन्।












