१ फाल्गुन २०८२, शुक्रबार

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट


केपी शर्मा ओली

काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै रिट दायर भएको छ । अधिवक्ता वीरेन्द्र केसीले आज बिहीबार सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध रिट दायर गरेका हुन् ।

अधिवक्ता केसीले अहिले कामचलाउन सरकार मात्रै रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न माग गर्दै रिट दायर गरेका हुन् । उक्त रिट दर्ता भइसकेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

यसमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, प्रतिनिधि सभाको सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय सिंहदरवार र राष्ट्रपतिको कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको छ।

संविधानको धारा १०० (२) ले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था गरेको छ।

सरकारमा रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले असार ३१ गते र नागरिक उन्मुक्ति पार्टी नाउपाले असार २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

अहिले कामचलाउ सरकार रहेको भन्दै राष्ट्रपतिले धारा ७६ अनुसार सरकार गठनका लागि आह्वान गर्नुपर्ने भनिएको छ। उक्त धारा अनुसार सरकार गठनको माग गर्दै प्रतिषेश, परमादेश लगायतको आदेश माग गरिएको छ।

त्यस्तै, अहिले गैरसंवैधानिक सरकारले निरन्तरता पाइरहेको भन्दै अन्तरिम आदेशको माग समेत गरिएको छ। यो रिटमाथि शुक्रबार सुनुवाइ हुने पेसी तोकिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !