३ फाल्गुन २०८२, आइतबार

अदालतलाई झोक चल्दा प्रधानमन्त्री नियुक्ति र बर्खास्ती हुन्छ : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्ने गरेको टिप्पणी गरेका छन् ।आज मंगलवार राष्ट्रिय सूचना आयोगद्वारा आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री संसदबाट चुनिने भएकाले अदालतको विषय नरहेको बताएका हुन् ।

अदालतलाई झोक चल्दा भने बर्खास्ती र नियुक्ति समेत गरेको ताजा अनुभव आफूसँग रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । अदालत संविधानको व्याख्याता भएकाले अनुकूल व्याख्या गर्ने सुविधालाई लिएर त्यस्तो फैसला हुने गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताए । उनले हरेक नागरिकले आवश्यक पाउनुपर्ने तर कानुनले गोप्य राख्नुपर्ने वा सरोकार नै नभएका विषयमा सूचना थुपार्नका लागि माग्ने अभ्यासको अर्थ आफूले नबुझेको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले सरकार र सूचना आयोगबीच कुनै अधिकारको लडाइँ तथा तानातान नरहेको उल्लेख गर्दै मौलिक हकको कार्यान्वयनका क्रममा देखिएका समस्यालाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक सञ्जाललाई दर्ता र करको नियमनमा ल्याउने तथा समाजलाई व्यवस्थित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !