काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री भोलि नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारे जानकारी गराएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन उनी नेपाल आउन लागेको बताइएको छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले भदौ ३१ देखि दुई दिनसम्म भारतको भ्रमण गर्ने यसअघि नै अनौपचारिक रूपमा समाचार सार्वजनिक भइसकेको छ । भारत र नेपालबिचको सम्बन्ध ऐतिहासिक, घनिष्ठ र मित्रतापूर्ण रहेको जनाउँदै विदेश मन्त्रालयले हालैका वर्षहरूमा दुवै देशबिच विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाएको छ ।












