काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन आगामी भदौ १४ गते चीन जान लागेका हुन् ।
सांघाइमा आयोजना हुने विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली जाने भएका हुन् । शिखर सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा आयोजना हुँदैछ ।
यो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँदैछन् ।
राष्ट्रपति सी जिनङ र मोदीसँग प्रधानमन्त्री ओलीको भेट हुने भएको छ । उक्त शिखर सम्मेलनबाट फर्किएपछि प्रधानमन्त्रीले भारतको औपचारिक भ्रमण गर्ने तयारी छ ।
यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे परामर्श भइरहेको थियो । राष्ट्रपति नजाने भएपछि प्रधानमन्त्री जाने तयारी भएको हो ।
यस संगठनमा चीनसहित काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, इज्वेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस सदस्य छन् । विश्व दुई ध्रुवमा विभाजित भइरहेका बेला यसपटक चीनको यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।












