काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मानव अधिकार संरक्षण नगरिएको धारणा दिएको छ । मानव अधिकार आयोगका टोलीले रूपन्देही कारागारमा अनुगमन गरेपछि यस्तो धारणा दिएको हो ।
आयोगकी प्रवक्ता एवं सदस्य लिली थापाको नेतृत्वमा गएको टोलीले आज गरेको अनुगमनमा लामिछानेलाई ‘न्यूनतम सुविधा नदिएको’ पाइएको बताएको हो । लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको थापाले प्रष्ट पारिन् ।
आफूहरू झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको थापाले बताइन् । कारागारको अनुगमनपछि थापाले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेकी छन् ।
थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् । थापाले रूपन्देही कारागारको २५० जनाको क्षमता रहेकोमा ७०० कैदी राखिँदा कैदीहरूको मानव अधिकारको अवस्था दयनीय बनेको बताइन् ।
उनले ठूलो कोठामा त्यहीँ बाथरुम, त्यहीँभित्र ट्वाइलेट एट्याच रहेको र सुरक्षाको कारण भनेर बाहिर घुमफिर गर्न नदिइएको पाइएको बताइन् । उनले अन्य कैदी बन्दीसँग पनि भेटेर कुरा गरेको र अन्य कैदी बन्दीको अवस्था भयावह रहेको बताइन् ।
आयोगकी सदस्य थापाले जेल सार्नका लागि लामिछानेले गरेको आग्रहलाई पनि राज्यले अस्वीकार गरेको बताइन् । अदालतले अनुमति दिइसकेपछि पनि जेल सरुवा रोक्नुले उनको मानव अधिकारको सम्मान नगरिएको थापाको भनाइ छ ।












