काठमाडौँ । सम्पर्क कार्यालय खोल्न भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले घर भाडामा लिएकी छिन् । भण्डारीले नयाँ बानेश्वर नजिक थापागाउँमा रहेको चारतले घर भाडामा लिएकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारी संरक्षक रहेर बनेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय स्थापनाको तयारी गरेको हो । मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनेको छ ।
२०४८ सालमा मदन भण्डारीले काठमाडौँबाट चुनाव लड्दा सम्पर्क कार्यालय राखेकै घरमा विद्याले सम्पर्क कार्यालय खोल्न लागेकी हुन् । उक्त घर पूर्वउपमेयर विदुर मैनालीको भएको बताइएको छ ।
एमाले अध्यक्ष केपी ओलीको अनिच्छाकाबिच भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् । सो घोषणापछि एमालेले उनको सदस्यता नै नवीकरण नगर्ने निर्णय गरेर पार्टीमा रोक्ने प्रयास थियो । तर पनि विद्याले आफ्नो गतिविधि नछाडेकी हुन् ।












