गण्डकी। कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राजनीति सेवाका लागि हो भन्ने भावना आवश्यक रहेको बताएका छन्।
सोमबार पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिंहले राजनीतिक नेतृत्वले जनताको मन जित्न सक्नुपर्ने बताए।
कांग्रेसको महाधिवेशन नजिकिँदै गरेको सन्दर्भमा उनले नेतृत्व चयनमा योगदान गर्न सक्ने र पार्टीप्रति प्रतिबद्ध व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। “पार्टीबाट लिनेभन्दा पनि योगदान गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ,” सिंहले भने, “जिम्मेवारी र इमान्दारिता आत्मसात गर्नसक्नेहरूलाई अवसर दिन जरुरी छ।”
उनले नेपाली कांग्रेस र नेकपा (एमाले) को वर्तमान गठबन्धन सरकार समय र परिस्थितिको उपज भएको उल्लेख गर्दै सरकारमा सहभागी हुनुको अर्थ जनताको एजेन्डा उठान गर्नु हो भने।
“पार्टीलाई नियमसङ्गत र संस्थागत गर्न सकियो भने स्थापनाकालीन सपनाहरू पूरा गर्न सहज हुन्छ,” सिंहले भने, “हामीले प्राप्त गरेका अधिकारको मूल्य बिर्सनु हुन्न। मूल्यमान्यताको राजनीतिबाट विमुख हुन नहुनेमा हाम्रो प्रतिबद्धता रहनुपर्छ।”
कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक विरासत विर्सिँदै जाँदा संगठन कमजोर भइरहेको बताए। पछिल्लो समयमा भ्रष्टाचार बढिरहेको भन्दै उनले जनअपेक्षासँग मेल खाने गरी सरकार अघि बढ्नुपर्नेमा जोड दिए।












