हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । बागमतीका मुख्यमन्त्री लामाले आज आइतबार पत्रकार सम्मेलन गर्दै राजीनामा घाेषणा गरेका हुन् ।
मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए ।
लामा २०८१ साल साउन ९ गते मुख्यमन्त्री बनेका थिए । लामाले एक वर्ष सरकारको नेतृत्व गर्दै संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि आज राजीनामा घाेषणा गरेका हुन् ।
पार्टी सभापति शेर बहादुर देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आइतबार पदबाट राजीनामा दिएकाे घाेषणा गरेका हुन् । उनले आज राजीनामा घोषणा गरेपनि भाेलि मात्रै प्रदेश प्रमुख दीपक देवकाेटालाई राजीनामा बुझाउने भएका छन् ।
प्रदेश प्रमुख देवकाेटा स्वास्थ्य उपचारपछि आज मात्रै अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले आफू इमान्दरपूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताए ।












