६ फाल्गुन २०८२, बुधबार

चक्रे मिलनसहित १९ जनालाई कम्तीमा ७ दिन हिरासतमा राख्न अनुमति


चक्रे मिलन

काठमाडौँ । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । पक्राउ परेका ४७ जनामध्ये १९ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद प्राप्त भएको हो । गएराति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका थिए ।

गएराति ४७ जना समातिए पनि २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो ।

म्याद थप हुनेहरूमा चक्रे मिलन, गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप के.सी., राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्र देव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन्।

केही दिनदेखि चक्रे मिलनको बर्थडे सेलिब्रेसनको नाममा आतंक फैलाएको भन्दै प्रहरीले सर्च अपरेशन चलाएको हो । बाटो छेकेर गाडीहरू चलाएको, होहल्ला गरेको, आतंकित बनाएको भन्दै प्रहरीले बिहीबार चक्रे मिलनको समूहलाई खोजी गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !