काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाइएको छ । बागमती प्रदेशअन्तर्गत कांग्रेस संसदीय दलका नेता लामाले संसदीय दलमा विश्वास गुमाएका हुन् ।
संसदीय दलमा आज मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ भने उनको विपक्षमा २२ मत परेसँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका छन् ।
आज मकवानपुरको हेटौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा लामालाई उक्त पदबाट हटाउने प्रस्ताव पारित गरिएसँगै अब संसदीय दलको नेता चयनको प्रक्रिया सुरु गरिने वाग्मती प्रदेशसभा सदस्य गोविन्द लम्सालले बताए ।
बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उनको विकल्पमा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेकाले लामालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएर बानियाँलाई सरकार हस्तान्तरण गर्न नैतिक दबाब बढेको छ ।












