४ फाल्गुन २०८२, सोमबार

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन


पृथ्वीमान गुरुङ

चितवन । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिए । नेपाली कांग्रेस विभाजन हुँदा उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए ।

विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका हुन् । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका थिए ।

गुरुङका छोरा देश बाहिर रहेकोले आइतबार अन्त्येष्टि गरिने छ । उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उनका कान्छा छोरा र श्रीमती रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !