काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकको निर्णयबाट आफू अचम्मित नभएको बताएकी छन् ।
आज बुधबार सामाजिक संजाल फेसबुकमा लेख्दै उनले नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको केन्द्रीय कमिटीले आफ्नी आमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने र एमालेको सक्रिय राजनीतिमा आउनबाट रोक्ने निर्णय गरेको निर्णयलाई ‘प्रकरण’ को समेत नामकरण दिएकी छन् ।
मंगलबारको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन रोक्ने निर्णय गरेको थियो। उषाले यस निर्णयलाई प्रकरणको संज्ञा दिँदै खुलमखुल्ला भएको तिकडमबाट आफू खुसी भएको बताइन्।
उनले नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसको सन्दर्भ उल्लेख गर्दै आफूलाई उहिलेउहिले किन उनको परिवार नेकपा एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन भन्ने लाग्ने पनि बताएकी छन्।
उनले पुष्पलालको परिवार राजनीतिमा निष्कृय रहनुको प्रसंग उल्लेख गर्दै आफ्नो परिवारलाई पनि अप्ठ्यारो आइलागेको बताएकी छन् । यो ज्ञानको बोझ आज बिसाउने मौका यो प्रकरणले दिएको बताउँदै उनले यो प्रकरणलाई धन्यवाद दिएकी छन् ।
यस्तो छ उषाकिरणले फेसबुकमा लेखेको स्टाट्स
तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीं अच्चमित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो। अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग!! मलाई उहिले उहिले लाग्थ्यो किन उहांको परिवार cpn uml मा नैतिक समर्थन गर्न पनि देखिने गरि प्रस्तुत हुंदैन, हामीलाई त आमाले राजनिती गर्न मनछैन भनेपनि सधैं देखिने गरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु , टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो। तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउनेरहेछन्। र नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहां बिसाउने मौका यो प्रकरणले दियो- त्यस कारण यो प्रकरणलाई धन्यवाद!












