२ फाल्गुन २०८२, शनिबार

सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल


सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित भिजिट भिसा प्रकरणमा संसद्मा निरन्तर सङ्घर्ष गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग आज छलफल गरेका छन् । उनले रास्वपा कार्यवाहक सभापति डिपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरे ।

सभामुख घिमिरेले भने, “भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारबाहीमा सहभागी हुनुभएको छैन । सरकार र तपाईँहरूबीच संवाद हुन नसक्दा त्यसको असर संसद्मा परेको छ । सभामुखका रूपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु ।”

उनले सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको कुरा उल्लेख गर्दै हाउस निरन्तर अवरोध हुँदा ती विधेयकलाई अगाडि बढाउन समस्या हुने बताए । उनले भने, “संसद् चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु । तपाईँहरूको सैद्धानिक, राजनीतिक र मुद्दाहरूप्रति मेरो भन्नु केही छैन । तर, संसदीय गतिविधि प्रभावित भएको छ ।”

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री चौरसियाले सरकारले छानबिन समिति बनाएर काम सुरू गरेको उल्लेख गरे । “सरकारले विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन । रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ । एउटा सहमतिको विन्दुमा पुग्न तपाईँहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ”, उनले भने ।

रास्वपा कार्यवाहक सभापति अर्यालले भने, “सभामुखले सहमतिका लागि निरन्तर पहल गरेका छन् । धेरै बैठक सहमतिका लागि नै स्थगित पनि गर्नुभयो । तर, हामीले उठाएका मुद्दा धेरै गम्भीर छन् ।”

राप्रपा उपाध्यक्ष तामाङ–भिजिट भिसा प्रकरणमा हामीले मुद्दा उठान गरिसकेका छौँ । तर, विपक्षी दल बिना सहमति फर्कन सक्ने अवस्थामा छैनन् । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । वैरागी छानबिन समितिले के काम गरेको छ भनेर समेत संसद्लाई जानकारी दिएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !