६ फाल्गुन २०८२, बुधबार

एमालेसँग एकताको कुनै सम्भावना छैन : माधव नेपाल


माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)सँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । आज शुक्रबार नेपाल राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

शुक्रबार राष्ट्रियसभामा आयोजित एक कार्यक्रमबीच वामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीबीच एकता भएको हो । सोही कार्यक्रममा अध्यक्ष नेपालले कुनै हिसाबले पनि एमालेसँग एकता हुने भ्रम नपाल्न नेता तथा कार्यकर्ताहरूलाई भनेका हुन्।

उनले आफूले त्यहाँभित्रकै अवस्था राम्रोसँग देखेको भन्दै एमालेसँग एकता हुन्छ की भनेर भ्रम नपाल्न आग्रह गरे । कम्युनिस्टहरू बिग्रिएपछि धेरै गन्हाउने गरेको भन्दै त्यही अवस्था अहिले आफूले देखिरहेको उल्लेख गरे ।

अध्यक्ष नेपालले आफ्नो पार्टीलाई सिध्याउन नेकपा एमालेले प्रयत्न गरिरहेको आरोप लगाए । पार्टीलाई बलियो बनाउन नेपाल राष्ट्रिय एकता अभियानसँगको एकताको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ छ ।

कार्यक्रममा नेता गौतमले आफू सय वर्षसम्म कम्युनिष्ट आन्दोलनलाई एक बनाउन लागिरहने बताए। नेता गौतमको इन्ट्रीपछि अब एकीकृत समाजवादीमा नेता नेपाल र झलनाथ खनालपछि उनको तेस्रो वरियता रहनेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !