३ फाल्गुन २०८२, आइतबार

३ हजार वर्षअघि ऋषि सुश्रुतले नेपालमा सर्जरी गरेको प्रधानमन्त्री ओलीको दावी


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ हजार वर्षअघि ऋषि सुश्रुतले नेपालमा सर्जरी गरेको दावी गरेका छन् । आज सोमबार त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवा भवन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् ।

उनले नेपालमा विश्वमै सबैभन्दा पुरानो चिकित्सा अभ्यास रहेको दाबी गरेका छन् । उनले आफूले धेरै ठाउँमा भन्ने गरेको हाम्रो चिकित्सा विज्ञान शास्त्र र ज्ञान र अभ्यासको विश्वमा सबैभन्दा पुरानो इतिहास यस भूभागमा भएको बताए ।

प्रधानमन्त्री ओलीले एलोपेथिक चिकित्सा विज्ञान सम्बन्धी चिकित्सा ज्ञानका प्रादुर्भावकर्ता हिप्पोक्रेटस २४ सय वर्ष अगाडिका रहेका र नेपालमा ३ हजार वर्ष अगाडि नै सर्जरी नै विकास भइसकेको बताए ।

प्रधानमन्त्री ओलीका अनुसार नेपालमा जनसंख्या कम भएकोले सुश्रुतले वनारस गएर शल्यक्रिया राम्ररी अगाडि बढाएका थिए । चरकलाई आयुर्वेद र चिकित्साशास्त्रका जनक भनेर मानिने प्रधानमन्त्री ओलीले बताए ।

हिप्पोक्रेटसभन्दा अगाडि चरक र अरू ऋषिमुनिहरूले चिकित्सा विज्ञानको नेपालमा विकास गरेको प्रधानम्नत्री ओलीले जिकिर गरे । उनले नेपालमा धेरै मानिसहरू बिरामी भइरहेको भन्दै यसलाई रोक्नुपर्ने बताए ।

भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका प्रवेशका अवसरमा महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले ‘निरोगी नेपाल’को नाराका साथ काम गरेकाले सकभर बिरामी नहुने गरी आहार, विहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभ रूपमा सेवा दिनुपर्ने बताए ।

उनले दुःख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङको उच्च प्रशंसा गरे । “कसैले पैसा कमाएर क्यासिनोमा खर्च गर्छन्, गुरुङ दम्पतीले अस्पताल बनाउन दान गर्छन् । क्यासिनोमा खर्च गर्नेहरू सुध्रिऊन्, गुुरुङ दम्पतीको दान गर्ने क्षमता वृद्धि हुँदै जाओस् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !