३ फाल्गुन २०८२, आइतबार

पूर्वराष्ट्रपति विद्या भण्डारी र बालेन शाहवीच भेटवार्ता


विद्या भण्डारी र बालेन शाह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहवीच भेटवार्ता भएको खुलेको छ । पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहवीच गत बिहीबार भेटवार्ता भएको थियो ।

बिहीबार पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बालेन उनकै निजी निवास भंगालमै पुगेका थिए । विशेष स्रोतका अनुसार भण्डारी र शाहवीच भेटवार्ताको क्रममा समसायिक देशको राजनीतिक विषयमा लगभग आधाघण्टा जति छलफल भएको बुझिएको छ ।

भर्खरै मात्र नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहवीच भएको भेटवार्तालाई राजनीतिक वृतमा विशेष चासोका साथ हेरिएको छ ।

भेटवार्ताका क्रममा पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिकाको पछिल्लोपटक भइरहेको विवादबारे चासो राखेको बुझिएको छ । उनले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ल्याउन नसक्नुको कारणबारे पनि बालेनसँग चासो राखेकी थिइन् ।

भण्डारी राष्ट्रपति रहँदा ‘राष्ट्रपति चुरे-तराई संरक्षण कार्यक्रम’अन्तर्गत चुरे क्षेत्रमा वन्यजन्तुको अन्डरपाससम्बन्धी एक योजनामा बालेन शाह पनि कार्यरत रहेको र पुरानै चिनजान अनुसार भेटवार्तालाई निरन्तरता दिइएको मेयर शाहको सचिवालय स्रोतको भनाइ छ।

उक्त भेटका क्रममा नेकपा (एमाले) का नेताहरू शेरधन राई, काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठलगायत नेताहरू पनि थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !