शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक
काठमाडौँ, २२ असारः शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा ‘विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल’ हुँदै । तस्बिरः गोपाल दाहाल÷रासस काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समयसीमा दिएको छ । आज आइतबार समितिका सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र विधेयकमा सहमति जुटाउन समय दिएका हुन् ।
आज बैठकको सुरुमै शिक्षामन्त्री पन्तले विधेयकमा सहमति जुटाउन थप समय दिन आग्रह गरेतापनि समितिका सदस्यहरूले आक्रोश पोखे । उनीहरूले सरकारलाई पटकपटक समय दिन नहुने बताएका थिए ।
सबै सदस्यले धारणा राखिसकेपछि समितिका सभापति थापाले मन्त्रीलाई अब पाँच दिनभित्र सहमति जुटाउन मन्त्री पन्तलाई आग्रह गरेका हुन् । मन्त्री पन्तले सीमा नतोक्न आग्रह गरे पनि सभापति थापाले मानेनन् ।
यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो । फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै मन्त्री पन्तले समय माग गरेका हुन् ।












