काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाएका छन् ।
आज जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति लागिरहेको बताए । यसको नेतृत्व अध्यक्ष प्रचण्डले गरिरहेको उनको भनाइ छ ।
महासेठले वर्तमान सत्ता गठबन्धन मन नपराउने सत्ता घटककै केही सांसदहरू पनि गठबन्धन तोड्ने प्रयासमा रहेको आरोप लगाए । यी सबै प्रयासका बावजुद पनि अहिलेसम्म वर्तमान गठबन्धन सरकार प्रतिकूल अवस्थामा नपुगेको उनले जिकिर गरे ।
प्रचण्डलाई स्वतन्त्र सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीहरूले सहयोग गरिरहेको पनि उनले बताए । सचिव महासेठले देशमा अहिलेको गठबन्धनको विकल्प नरहेको समेत बताए ।












