काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।
आजकै मितिबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको उनीनिकट स्रोतले बताएको हो । नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि उनले सरकारी सेवासुविधा फिर्ता गर्ने भएकी हुन् ।
पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइएको हो । भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन् ।
भण्डारी निकट स्रोतका अनुसार उनले राष्ट्रपतिको कार्यकाल पूरा गरेर शितलनिवासबाट बाहिरिँदा नै सरकारले दिएका धेरै सेवा सुविधा फिर्ता गरिसकेकी थिइन् । सरकारले पूर्व राष्ट्रपतिलाई घर दिन्छ तर उनले सरकारले दिएको आवास सुविधा नलिइ आफ्नै घर चपली हाइट गएकी थिइन् ।
उनले सरकारले दिने सचिवालय, कर्मचारी, सुरक्षाकर्मीको घरभाडा जस्ता सुविधा लिइरहेकोमा त्यो पनि फिर्ता गर्न चाहेकी हुन् । सरकारले पूर्वराष्ट्रपतिलाई तलब पनि दिन्छ । तर, भण्डारीले तलब लिएकी छैनन् ।
सरकारले गाडी दिने व्यवस्था भए पनि उनले सरकारी गाडी नलिइ आफ्नै गाडी प्रयोग गर्छिन, इन्धन भने लिन्छिन् । यसबाहेक सरकारले उनलाई दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिरिदिने गरेको छ ।












