२ फाल्गुन २०८२, शनिबार

विद्यालय शिक्षा विधेयक पारित गर्न बोलाएको बैठक अनिश्चितकालका लागि स्थगित


शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति

काठमाडौँ । विद्यालय शिक्षा विधेयक पारित गर्न बोलाइएको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग छलफल गर्न बाँकी नै रहेको भन्दै सोमबारको बैठकमा समिति बैठक स्थगितको प्रस्ताव गरेका थिए भने मन्त्रीको उक्त प्रस्तावमा सांसदहरूले विरोध जनाएका थिए ।

शिक्षामन्त्रीको आग्रहपछि अहिलेसम्मको सहमतिबाट ब्याक नहुने गरेर बैठक स्थगित गरिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । उनले सरकारलाई पटक पटक समय दिए पनि विद्यालय शिक्षा विधेयकमा कुनै ठोस प्रगति नभएको भन्‍दै आक्रोश व्‍यक्त गरे ।

मुख्य गरी नेपाल शिक्षक महासंघले विधेयकमा रहेको शिक्षक पदपूर्तिबारे असन्तुष्टि जनाएको छ। विधेयकमा शिक्षक पदपूर्ति आन्तरिकतर्फ ६० प्रतिशत र खुलातर्फ ४० प्रतिशतको व्यवस्था गरिएको छ। तर नेपाल शिक्षक महासंघले आन्तरिकतर्फ ७५ प्रतिशत र खुलातर्फ २५ प्रतिशत राख्नुपर्ने अडान राखेको छ।

सत्तारूढ नेपाली कांग्रेस भने विधेयकमा शिक्षक पदपूर्तिमा आन्तरिक र खुलामा प्रतिशत तोक्न नहुने पक्षमा उभिएको छ। कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षक पदपूर्तिबारे तोकिएबमोजिम भन्ने कुरा विधेयकमा राख्नुपर्ने पक्षमा पार्टी रहेको बताएका छन्।

बैठकमा बोलेका अधिकांश सांसदहरूले आज राति १२ बजेसम्म भए पनि विधेयक पारित गर्न मन्त्री पन्तलाई आग्रह गरेका थिए। मन्त्री पन्तले सरकारले नै विधेयक रोक भनेकोले रोक्नुपरेको जबाफ दिएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु