काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने भएकी छन् । नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि उनले सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी हुन् ।
पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ। भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन् ।
भण्डारी निकट स्रोतका अनुसार उनले राष्ट्रपतिको कार्यकाल पूरा गरेर शितलनिवासबाट बाहिरिँदा नै सरकारले दिएका धेरै सेवा सुविधा फिर्ता गरिसकेकी थिइन् । सरकारले पूर्व राष्ट्रपतिलाई घर दिन्छ तर उनले सरकारले दिएको आवास सुविधा नलिइ आफ्नै घर चपली हाइट गएकी थिइन् ।
उनले सरकारले दिने सचिवालय, कर्मचारी, सुरक्षाकर्मीको घरभाडा जस्ता सुविधा लिइरहेकोमा त्यो पनि फिर्ता गर्न चाहेको उनीनिकट स्रोतले जानकारी दिएको छ । पूर्वराष्ट्रपतिले सरकारलाई आगामी आर्थिक वर्षको पहिलो दिनदेखि लागु हुनेगरी सेवासुविधा फिर्ताको पत्र लेख्ने तयारी गरेको बताइएको छ ।
सरकारले पूर्वराष्ट्रपतिलाई तलब पनि दिन्छ । तर, भण्डारीले तलब लिएकी छैनन् । सरकारले गाडी दिने व्यवस्था भए पनि उनले सरकारी गाडी नलिइ आफ्नै गाडी प्रयोग गर्छिन, इन्धन भने लिन्छिन् । यसबाहेक सरकारले उनलाई दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिरिदिने गरेको छ ।
भण्डारीनिकट स्रोतका अनुसार आगामी १ साउनदेखि लागू हुनेगरी सेवासुविधा फिर्ताको पत्र पठाउने तयारी छ ।












