काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् । आइतबार संसद् बैठकमा विधेयकमाथिको छलफलमा भाग लिएका सांसद साहले विधेयकको प्रति नै च्यातेका हुन् ।
संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकलाई ‘गरिबमारा’ भनेर च्यातिदिएका हुन् । “यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ,” उनले भने ।
निजामती विधेयकपास भएको साक्षी आफू रहन नसक्ने बताए । सांसद साहले विधेयकमा गरिबलाई निषेध गरिएको दाबी गरे । विधेयकबाट संविधानको नै उल्लंघन गरिएको उनको भनाइ छ । उनले तल्लो तहका कर्मचारीको वृत्ति विकासमा रोक लगाइएको बताए ।
“गरिबको भाग्य भविष्यलाई कत्लेआम आएको यो निजामती विधेयक हामीलाई स्वीकार्य छैन । यदि यो पारित भयो भने गरिबका लागि कालो दिन हुनेछ,” उनले भने ।












