३ फाल्गुन २०८२, आइतबार

एमालेको राजनीतिमा पुन: सक्रिय भएको विद्या भण्डारीको घोषणा


विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा सक्रिय भएको घोषणा गरेकी छन् । आज असार १४ गते शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले एमालेको सदस्यता नवीकरण गराएको बताइन् ।

स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् ।

“पार्टी सदस्यता नवीकरण गरेको छु । अब म एमालेको एक सदस्यका रूपमा पुनः जोडिएको छु,” उनले भनिन्, “यसमा गर्व गर्दछु । कुनै विशिष्ट आकांक्षा छैन ।”

पार्टी राजनीतिमा फर्कनुमा आफ्नो कुनै स्वार्थ नभएको उनले उल्लेख गरिन् । उनले आफ्नो कुनै ठूलो महत्वकांक्षा नरहेको पनि बताइन् ।

‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उनले भावुक सम्बोधन गर्दै भनिन्, ‘आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुन: स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !