३ फाल्गुन २०८२, आइतबार

बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छः महासचिव पोखरेल


शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बजेटले नयाँ पुस्तालाई मुलुकमा स्वरोजगार र उत्पादनसँग जोड्ने कार्यक्रम ल्याएको बताएका छन् ।

काठमाडौं जिल्ला कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले बजेटले रोजगारी सिर्जना, स्टार्टअप प्रवर्द्धन, कृषिको आधुनिकीकरण, उद्यमशीलता र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए । ‘बजेट सन्तुलित, उद्देश्ययुक्त र कार्यान्वयनमुखी छ । बजेटका कार्यक्रमले युवालाई देशभित्रै राख्ने प्रयास गरेको छ’, महासचिव पोखरेलले भने ।

उनले बजेटको प्रभावकारी कार्यान्वयन भए थुप्रै संरचनात्मक समस्या समाधान गर्न सकिने धारणा राखे ‍। महासचिव पोखरेलले विशेष रूपमा नेपाली युवा विदेश पलायनको बढ्दो दरप्रति चिन्ता व्यक्त गरे ।

उनले नेपाली युवा केवल बाध्यताले मात्र नभई परम्परागत ‘लाहुरे संस्कृति’को प्रभावले पनि विदेश जाने गरेका बताए । ‘हिजो भारततिर जान्थे, आज तेस्रो मुलुकतिर जान लागेका छन्’, उनले भने ।

एमालेको नेतृत्वमा रहेको सरकारले ग्यास, फलामजस्ता खानीको पहिचान, पूर्वाधार निर्माणको थालनी र दिगो आर्थिक रूपान्तरणको खाका कोरेर नयाँ युगको शुरूआत गरेको महासचिव पोखरेलले बताए । एमाले र देशलाई कमजोर बनाई सामाजिक अराजकता मच्चाउन सकिन्छ भन्नेले नियोजित रूपमा पार्टी र नेतृत्वमाथि हमला गरेको उनको भनाइ थियो ।

पार्टीभित्र नेतृत्वको बहस गर्ने बेला नभएको उनले बताए । अधिवेशनको समयमा नेतृत्वबारे छलफल गरी टुङ्ग्याउन एमाले सक्षम रहेको महासचिव पोखरेलले बताउनुभयो । उनले अहिले पार्टी बलियो बनाउन एकतामार्फत अघि बढ्ने बेला भएको बताए ।

बैठकमा एमाले केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेलले काठमाडौंमा पार्टीलाई पहिलो शक्ति बनाउनुपर्ने बताए । काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले काठमाडौं जिल्लाको संगठनात्मक विस्तार कार्यलाई तीव्रताका साथ लगिएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !