५ फाल्गुन २०८२, मंगलबार

प्रधानमन्त्री ओलीले माधव नेपाललाई राजनीतिक प्रतिशोध साँध्नुभयो : अध्यक्ष प्रचण्ड


अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक प्रतिशोधको गन्ध आएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठक पनि चल्न नसकेपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पतञ्जली जग्गा प्रकरणबारे प्रधानमन्त्री ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

प्रचण्डले नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुलाई प्रधानमन्त्री ओलीमा राजनीतिक प्रतिशोधको गन्ध आएको आरोप लगाएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ ।’

मुद्दा दर्ताप्रति अध्यक्ष नेपालले नै आश्चर्य प्रकट गरेको र अदालतले न्याय दिनेमा विश्वस्त रहेको उल्लेख गरे । कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर ललितानिवास प्रकरणमा पन्छिएको र अहिले पुनः सोही प्रकृतिको मुद्दा दर्ता गरेको भन्दै अख्तियारले जवाफ दिनुपर्ने बताए ।

“अदालतले माधव नेपाललाई न्याय नै गर्छ भन्ने ठान्छु, ललिता निवास र पतञ्जली प्रकरणका नीतिगत निर्णयमा अख्तियारले फरक निर्णय गरेको छ, नीतिगत निर्णयकै बारेमा अख्तियारले फरकफरक निर्णय गर्दा अचम्म लागेको छ”, उनले भने ।

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्दा चलाउन लागिएकामा अचम्मित लागेको उनको भनाइ छ । उनले नीतिगत निर्णयमा अख्तियारले छानबिन गर्दै जाने हो भने कोही पनि प्रधानमन्त्री छानबिनको दायराभित्र आउने बताए ।

यो पनि पढ्नुहोस्

भरपर्दो छानबिनमा सहमति भए प्रतिनिधिसभाको अवरोध खुल्छ : अध्यक्ष प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !